Wednesday, November 25

कोरोना रोकथाममा लागिपरेका सुरक्षाकर्मीहरुमा संक्रमण बढ्दै, प्रदेश २ मा ८८ सुरक्षाकर्मी संक्रमित

August 10, 2020 100

जनकपुरधाम, २६ साउन । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण बढदै गएको छ । प्रदेश २ को विभिन्न जिल्लामा खटेका ८८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले जानकारी दिनुभयो ।

भारतसँगको खुल्ला सिमानाकाको कारण चोरबाट हुँदै आउने तथा लकडाउनको कार्यान्वयन गराउन खटेका सुरक्षाकर्मीहरुमा कोरोना फैलिदै गएको छ । प्रदेशको ८ जिल्लामा ८८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ३८ जना निको भएर डिस्चार्ज भएको प्रहरी प्रवक्ता सिंहले बताउनु भयो ।

प्रदेश प्रहरी कार्यालयको अनुसार अहिले सम्ममा सबैभन्दा बढी पर्सामा २६ जना नेपाल प्रहरीका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा सबैभन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपनि अहिले सम्म १ जना मात्र निको भएर डिस्चार्ज भएका छन् । त्यस्तै धनुषामा २२ जना संक्रमित हुँदा १५ जना निको भएर डिस्चार्ज भएका छन् ।
बारामा १४ मध्ये ७, सप्तरीमा १३ मध्ये ५, रौतहटमा ५ मध्ये ४, सर्लाहीमा ४ मध्ये २ जना निको भएर डिस्चार्ज भएका छन् ।

त्यस्तै सिरहा र महोत्तरीमा दुई/दुई जना प्रहरी कोरोना संक्रमित हुँदा सबै जना निको भएर डिस्चार्ज भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । प्रदेश प्रहरी प्रवक्ता सिंहका अनुसार अहिलेसम्म कोरोनाको लक्षण देखिएका र संक्रमित भएका सुरक्षाकर्मीहरुको सम्पर्कमा आएकाहरुको मात्र कोरोना परीक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्